FAQs Complain Problems

मैवाखोला गाउँपालिकाको संक्षिप्त परिचय

नेपालको सुदुर पूर्वी जिल्ला ताप्लेजुङको पूर्वमा आठराई त्रिवेणी गाउँपालिका,पश्‍चिममा संखुवासभा जिल्लाको पञ्चखपन नगरपालिका र चैनपुर नगरपालिका,उत्तरपुर्वमा ताप्लेजुङ जिल्लाकै मिरिङदेन गाउँपालिका र दक्षिणमा तेह्रथुम जिल्लाको मेन्छयायेम गाउँपालिका चार किल्ला वीच अवस्थित साबिक तीन वटा गा.वि.स.हरू(ढुङ्गेसाँघु, साँघु र फाकुम्बा) समायोजन भई मैवाखोला गाउँपालिका नामाकरण भएको हो । यस गाउँपालिकामा जम्मा ६ वडा कार्यालयहरु रहेका छन् ।

जिल्लाको राजनीतिक विभाजनको हिसाबले ताप्लेजुङको निर्वाचन क्षेत्र "ख" अन्तर्गत यो गाउँपालिका पर्दछ। वर्तमान नेपालको संविधानमा व्यवस्था भए बमोजिमको स्थानीय तह अन्तर्गत एउटा स्थानीय तह वा सरकारको रुपमा स्थापित मैवाखोला गाउँपालिका जसको संचालन निर्वाचित जन प्रतिनिधिहरुबाट भइरहेको छ। यस गाउँपालिकाको कार्य तथा जिम्मेवारीहरु संविधानको अनुसूचीहरुमा उल्लेख भए अनुसार सञ्चालन भइरहेको छ। हाल यो स्थानीय सरकार संचालन ऐन, २०७४ बाट व्यवस्थित र संचालित छ। संघ र प्रदेश सरकारसंग यसको सम्वन्ध, सहअस्तित्व, समन्वय र सहकारीताको सिद्धान्तबाट निर्देशित र व्यवस्थित छ।

व्यवस्थापिकाको रुपमा गाउँसभा, न्यायपालिकाको रुपमा न्यायिक समिति र कार्यपालिकाको रुपमा गाउँकार्यपालिका जस्ता संरचनाहरु मार्फत यसले स्थानीय सरकारको रुपमा अभ्यास गरिरहेको छ। क्षेत्रफल १३८ वर्ग किलोमिटर रहेको छ । वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार यस गाउँपालिकामा २२७५ घर धुरी, पुरुष ५२६४ र महिला ५१०१ गरि जम्मा १०३६५ जनसंख्या रहेको छ ।